म्याग्दी । पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल बेनी नगरपालिका–७ मङ्गलाघाटमा बस्ने एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मङ्गलाघाटको आरनटोलका राजु विकले मंगलबार बिहान दाउरा प्रहार गर्दा २७ वर्षीय उनकी श्रीमती भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको छ र उनकी मृतक श्रीमतीको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । प्रहरीले घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।