काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा कानुन समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियनद्वारा सोमबार राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री भण्डारीले ऐन कानुन सेवा प्रदान गर्न सहुलियत र सहजताका लागि बनाइएको हुनाले समय सापेक्ष र आवश्यकताका आधारमा परिवर्तन हुनुपर्ने बताए । हाल श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जानकारी दिँदै उनले सरोकारवालाको सहमतिमा बनाएका ऐन र कानुनहरू सबै पक्ष मिलेर अनिवार्य लागू गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री भण्डारीले सबै सरोकारवालाको सहकार्य र सहमतिमा बनाइएको ऐन लागू गर्ने दायित्व पनि सबैको भएको बताए । उनले वर्तमान श्रम ऐनमा के–के कुराहरू व्यावहारिक छैन त्यसका बारेमा गम्भीर छलफल गरी सुझाव दिन पनि आग्रह गरे ।
सरकार ऐन कानुन लागू गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड युनियनहरू पनि एक ढिक्का भएर अगाडि बढनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले भने, ‘सरकार ऐन कानुन लागू गर्न तयार छ, ट्रेड युनियनहरू पनि त्यसका लागि तयार हुनुपर्छ ।’ ट्रेड युनियनद्वारा श्रमिक आयोग गठनको माग अगाडि सारिएको माग जायज रहेको बताउँदै उनले त्यसका लागि आवश्यक पहल लिन समेत सुझाए । यसका लागि सबै ट्रेड युनियनमा आबद्ध संघसंस्थाहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।