काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको तीन अर्ब ८४ करोड ३८ लाख रुपैयाँ संस्थागत निक्षेपको रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थामा राख्न प्रस्ताव आह्वान गरेको हो ।
रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले यही वैशाख १९ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् मे १७, २०२५ देखि मे १७, २०२६ सम्म रहने छ ।
लगानीको लागि छुट्याइएको कुल रकममध्येमा वाणिज्य बैंकको लागि तीन अर्ब सात करोड ५२ लाख, विकास बैंकहरूका लागि ५७ करोड ६५ लाख र फाइनान्स कम्पनीका लागि १९ करोड २१ लाख रुपैयाँ रहेको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।