काठमाडौं । सिचुवान विश्वविद्यालयको आधिकारिक प्रतिनिधिका रूपमा कार्यरत न्युटोनियन साइन्स काउन्सेलिङ इन्स्टिच्युट प्रालि (एनएससीआई) ले काठमाडौंमा सेमिनार तथा एलुम्नाई मिट कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा भावी विद्यार्थी, पूर्वविद्यार्थी र विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रख्यात कार्डियोलोजिस्ट डा मन बहादुर केसीले चीनको वुहान विश्वविद्यालयमा आफ्नो अध्ययन यात्राको अनुभव बाँड्दै चिनियाँ मेडिकल विश्वविद्यालयहरूले विश्वभरि सशक्त करियरको ढोका खोल्ने गरेको बताए । यस्तै, सिचुवान विश्वविद्यालयका प्रतिनिधि मिस पुशीलु (डाइरेक्टर, इन्टरनेसनल स्टुडेन्ट्स अफिस), मिस लि होङ (कार्यक्रम संयोजक), र मिस्टर लिउ टिङ लिन (विद्यार्थी मामिला प्रमुख)ले विश्वविद्यालयको गुणस्तरीय शिक्षा प्रणाली, स्कलरसिप, एक्सचेञ्ज प्रोग्राम र विद्यार्थी जीवनको बारेमा जानकारी दिएका थिए ।
एलुम्नाई सेसनमा डा. शशि शाहले आफ्नो एमबीबीएस, एमएस तथा सिचुवान विश्वविद्यालयबाट प्राप्त हेपाटोबिलियरी र प्यान्क्रियाटिक सर्जरीमा पीएचडीको अनुभव बाँडे । हाल उनी करुणा अस्पतालमा सर्जनको रूपमा कार्यरत छन् । त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनमा पूर्ण छात्रवृत्तिका साथ स्नातक गरेका त्सेवाङ गोन्पोले नेपालको हस्तनिर्मित सामग्री व्यवसायमा आफ्नो सफल उद्यमशीलताको कथा सुनाएका थिए । एलुम्नाई मिटले पूर्वविद्यार्थीबीचको सम्बन्ध थप बलियो बनाउँदै नेपाल–चीन शैक्षिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।