रियो डि जेनेरियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिबाट उत्पन्न हुने खतराहरूको सामना गर्न संयुक्त मोर्चा प्रस्तुत गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू ब्राजिल पुगेका छन् । बैठकमा ब्रिक्स देशका विदेश मन्त्रीहरु सहभागी छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यस हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापक नयाँ करको प्रभावमा वृद्धिको पूर्वानुमान कटौती गरेपछि विश्व अर्थतन्त्रका लागि यो बैठक महत्वपूर्ण मानिएको छ ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित हालका अध्यक्ष ब्राजिलसहितका व्यापारिक समूहका कूटनीतिज्ञहरू जुलाई महिनामा हुने नेताहरूको शिखर सम्मेलनको पूर्वतयारीका रूपमा रियो डि जेनेरियोमा दुई दिनसम्म छलफल गर्दैछन् । ‘मन्त्रीहरूले बहुपक्षीय व्यापार प्रणालीको केन्द्रीयता र महत्व पुनः पुष्टि गर्ने उद्देश्यले एक घोषणापत्रका लागि वार्ता गरिरहेका छन्’, ब्राजिलका ब्रिक्स प्रतिनिधि माउरिसियो लिरियोले पत्रकारहरूलाई बताए ।