काठमाडौं । एनएमबी बैंकले नेपालमै पहिलोपटक छ करोड अमेरिकी डलर बराबरको हरित बन्ड जारी गर्ने भएको छ । बैंक र अन्तर्राष्ट्रिय निकायहरू आईएफसी, बीआईआई र मेट लाइफसँगको साझेदारीमा उक्त बन्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी–पत्रमा हस्ताक्षर भएको छ ।
यो सहकार्यले जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य समेत लिएको छ । त्यसैगरी, यसले देशको ऊर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ । यस बन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जाहरू, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनामा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ । उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयासमार्फत नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
साथै, उनले एनएमबी बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।