नेपालगन्ज । प्रहरीले आफ्नै सहोदर छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई पक्राउ गरेको छ । उनीहरु कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बस्दै आएका हुन् ।
यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीले मिलेर आफ्नो नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको हुँदा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत नौ वर्षीय बालक कुशल बुढाको शव बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा जमिनमुनि गाडिएको अवस्थामा सोमवार बेलुकी भेटिएको थियो । प्रहरीले सो घट्नाको अनुसन्धान गर्दै जाँदा सहोदर आमा यशोदा बुढा र सौतेला पिता निरकनाथ योगीले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको पाइएकोले दुबैलाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख रेसमलाल पौडेलले बताए ।