कञ्चनपुर । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहिद परिवार सम्मान कार्यक्रममा बुधबार ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने जनाउदै अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।
सो अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरे । जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन भने ।
आजै पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग अध्यक्ष दाहालले भेट गरे । भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए ।