धनबहादुर जप्रेल
कञ्चनपुर, साउन १८
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी जोड्ने दैजी बेल्डाँडी सडकमा पर्ने बल्मा नदीमा पुल नबन्दा वर्षायाममा आवतजावत गर्ने यात्रुहरुले सास्ती भोगिरहेका छन् । जिल्लाको वेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका तीन तहका बासिन्दाले सास्ती खेप्नुपरेको स्थानीयहरुको गुनासो रहेको छ ।
अहिले वर्षामा खोला बढेपछि उक्त क्षेत्रमा जोखिम मोलेर आउजाउ गरिरहेका छन् । पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा खोलामा दैनिक रुपमा आउजाउ गर्दै आइरहेका छन् । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जोड्ने यो बाटो छोटो दूरीको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का भए पनि हालसम्म उक्त पुलको निर्माणकार्य सकिएको छैन ।
ठेकेदारले पुल बनाउने क्रममा खोलामा बनाएको स्लेभ भत्किएपछि झन् समस्या उब्जिएको छ । हाल उक्त पुल अधूरो रहेको छ । हुलाकी राजमार्गमा पर्ने यो पुलको निर्माणमा ठेकेदारको गम्भीर लापरबाही देखिएको छ । ठेकेदारको लापरबाहीले पुल निर्माण ढिलो हुनपुगेको छ । खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला तर्नुपरेको छ ।
पुल क्षेत्रका बासिन्दाले मान्छे, सवारीसाधन र समान तार्न एक सयदेखि तीन सयसम्म लिने गरेका छन् । चार वर्षअघि एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । त्यसपछि दुई वर्ष म्याद थप गरिए पनि पूरा भएको छैन । पुल निर्माण सम्झौता भएपछि वेदकोट नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधि समेत पुल निर्माणमा अनविज्ञ छन् । वेदकोटका जनप्रतिनिधिले पुल निर्माणसम्बन्धी सोधपुछ समेत नगरेको सडक डिभिजन कार्यालयका एक अधिकारीले बताए ।
वेदकोट नगरपालिकाको भत्किएको स्लेभ मर्मतमा समेत ध्यान पुगेको छैन । स्लेभ भत्किएर बनेको खाल्डोमा दैनिक सवारीसाधन फस्ने गरेका छन् । महेन्द्रनगरबाट दक्षिण क्षेत्र जाने सवारीसाधन पनि बाढीको समयमा किनारमा बस्ने गरेका छन् । ती सवारी पानीको सतह घटेपछि मात्रै गन्तव्य जाने गरेका छन् । ९७ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि छ करोड ८० लाखमा ठेक्का दिइएको छ । बल्मा खोला खोलाले वेदकोट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई छ्टयाएको छ । खोला तर्ने बासिन्दा वेदकोट नगरपालिकासित आक्रोशित हुने गरेका छन् । ‘यस्तो समस्या छ, यतिका मान्छे आउँछन्, यो नगरपालिकालाई केही मतलब छैन’, बेलौरीका पुरन चौधरीले आक्रोश पोख्दै भने ।