काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएर समायोजना गरेको जनाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा एक रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर २९ अमेरिकी डलर घटाएको हो । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि प्रतिकिलोलिटर ३६ डलर घटाएर मूल्य कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि समायोजन गरिएको निगमले जनाएको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय ५८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य एक सय ४५ रुपैयाँ पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर पेट्रोल एक सय ५७ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय ४४ रुपैयाँ, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर पेट्रोल एक सय ५५ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेल एक सय ४२ रुपैयाँ ५० पैसा पर्नेछ ।