काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गर्दै सो निर्देशन दिएको हो । अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामी रिपोर्टमा खुलाउन भनिएको छ । निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । साथै, यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदाहुँदै अस्पतालबाहिर हुने रेफर समेत रोक्ने अपेक्षा गरिएको छ ।
हाल चिकित्सकीय विवरण पेस्क्रिप्सनमा पूरा नहुँदा बिरामीको उपचार तथा त्यसका क्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको छ । चिकित्सकीय विवरण अनिवार्य गरिंँदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्धत मिल्ने विश्वास गरिएको छ । मन्त्रालयले सरकारी अस्पतालमा बिरामीहरूलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिँदै आएको छ । जारी निर्देशनले यसमा मद्धत पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।