काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको पछिल्लो आठ महिना अर्थात् फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाले ६७ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा कुल ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषत चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने बैंकिङ क्षेत्रको कुल ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा ५० खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह हुँदा बैंकिङ क्षेत्रमा औषतमा तीन दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । सोअनुसार पछिल्लो समय बैंकिङ क्षेत्रको कुल निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव १९ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कुल ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा कुल ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा वाणिज्य बैंकहरूमा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ५४ खर्ब ७१ अर्ब ८४ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब ९९ अर्ब ८४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा औषतमा तीन दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । चालु आवको फागुन मसान्तसम्ममा विकास बैंकहरूले भने छ खर्ब दुई अर्ब पाँच करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरूमा औषतमा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ९६ अर्ब पाँच करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा भने विकास बैंकहरूमा औषतमा तीन दशमलव ६१ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो ।
फाइनान्स कम्पनीहरूले भने चालु आवको फागुन मसान्तसम्ममा एक खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरूमा औषतमा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २२ अर्ब २१ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब तीन करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा भने फाइनान्स कम्पनीमा नौ दशमलव १८ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो ।