काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले आफ्नो सेवा दायरा थप विस्तार गर्दै उच्चगतिको एक सय एमबीपीएस फाइबर इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।
कम्पनीले यसअघि ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै आएको थियो । सो सेवा ७० हजारभन्दा बढी ग्राहकमा उपलब्ध गराइएको वाईफाई नेपालले जनाएको छ । अब बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी कम्पनीले डुअल ब्यान्ड राउटरसहितको एक सय एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको हो । यो सेवा नेपाली घरपरिवार र साना व्यवसायका लागि विशेषरूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ एक सय एमबीपीएस योजना २४ महिनाको लागि १५ हजार सात सय सात रुपैयाँमा र १२ महिनाका लागि नौ हजार चार सय ६९ रुपैयाँमा खरिद गर्न सकिनेछ । सो मूल्यमा भ्याट समेत समावेश गरिएको कम्पनीले जनाएको छ । साथै, अतिरिक्त कुनै शुल्क लाग्दैन, यसले गर्दा ग्राहकले पूर्ण पारदर्शिता र उचित मूल्यमा सेवा पाउने कम्पनीले जनाएको छ । वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुघ्न पञ्जियारले कम्पनीको लक्ष्य सधैं सबै नेपालीहरूलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु रहेको बताए । सबैले बहन गर्न सक्ने मूल्यमा उच्च गुणस्तरीय फाइबर इन्टरनेट उपलब्ध गराएर त्यो खाँचो पूरा गर्न कम्पनी लाग्ने उनको भनाइ छ ।
वाईफाई नेपालले आफ्ना उद्देश्यलाई कायम राख्दै, गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा माध्यमबाट नेपाली व्यक्ति र साना व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ । कम्पनीले सेवा विश्वसनीयता र ग्राहक सन्तुष्टिको नयाँ स्तर निर्धारण गर्दै अगाडि बढिरहेको छ ।