चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्युरोसर्जरी सेवा पुनः सुरु भएको छ । वरिष्ठ न्युरोसर्जन प्राडा आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्युरोसर्जन डा विपिन चौरसियासहितको चिकित्सकको टोलीले अस्पतालमा न्युरो सर्जरी सेवा दिन थालेको हो ।
डा चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्युरोसर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ । विशेषगरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्युरोट्रमा)जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको छ । ‘हाम्रो टिम मस्तिष्कको ट्युमर, मस्तिस्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्य्राक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघातजस्ता न्युरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,’ डा चौरसियाले भने । यो सेवाले चितवनवासीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्युरोसर्जरी सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पतालले व्यक्त गरेको छ ।