काठमाडौं । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा भारतको इण्डियन एक्सचेन्ज मार्केट (आईएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको छ सय मेगावाट विद्युत्को समयावधि बढाइएको हो ।
उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्बाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाब बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।
औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । प्राधिकरणले मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमासमेत आयत गर्ने प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने जनाएको छ ।
प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट छ सय मेगावाट विद्युत् आयातको समयावधि थप चार घण्टा बढाइएको जनाएको छ ।