काठमाडौँ । राजा चार्ल्स तृतीयसमक्ष संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा आयोजित विशेष समारोहमा बिहीबार अपराह्न उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
उनले शिष्टाचार भेटमा मौसूफबाट विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण हुनाका साथै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिएका थिए ।
नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै बेलायती नरेशले त्यसप्रति सन्तुष्टि व्यक्त गरेको लण्डनस्थित नेपालको राजदूतावासले जनाएको छ ।
नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्दै राजदूत घिमिरेले दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा पनि गरे ।
राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजदूत घिमिरेले मौसूफको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।
राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपालको दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरूको सो अवसरमा उपस्थिति थियो ।