काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिमस्थित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास गरेको छ । २०८० साल कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुईवटा भवनमध्ये एउटाको पुनर्निर्माण बैंकको सहयोगमा हुन लागेको हो । कुल एक सय ७५ जना विद्यार्र्थी अध्ययनरत सो विद्यालयमा बाल कक्षादेखि कक्षा आठसम्म पठनपाठन भइरहेको छ ।
शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, सोही गाउँपालिका–वडा नं.१ का वडाध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्टलगायत अन्य शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकको उपस्थिति रहेको थियो ।
बैंकले सधैँ बालबालिकाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको छ । आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन् भन्ने मान्यताका साथ उनीहरूलाई सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला रहेको कार्यक्रममा सहभागीहरूले धारणा राखेका छन् । यस दृष्टिकोणलाई आत्मसात् गर्दै बैंकले प्रारम्भिक शिक्षा मात्र नभई, उच्च शिक्षामा समेत दीर्घकालीन प्रभाव पर्ने सहयोग गर्दै आइरहेको बैंकले जनाएको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको जनाएको छ । आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ ।