काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । चेम्बरले एक सय ३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी स्वास्थ्य सेवामा श्रमिकको पहुँच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी रहेको उल्लेख गरेको छ ।
श्रमिकको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई पनि मौलिक हकका रूपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएको छ । श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ । साथै, चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा चेम्बर रहेको जनाएको छ । सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।