काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा आठ सयभन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १९ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो ।
सो शिविरमध्ये शुक्रबार युएईमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए । नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्करूपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणसँगै डा श्रेष्ठले शारीरिक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रिया समेत गरेको नेपाली दूतावासले जनाएको छ ।
सो कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारी समेत उपलब्ध गराएको थियो । सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरूपमा सञ्चालन गरिएको थियो । राजदूतावासले सेवा प्रवाहसँगै युएईमा कार्यरत नेपालीलाई शारीरिक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएई तथा नेपाली समाज, युएईले स्वयंसेवक उपलब्ध गराई सहयोग गरेको थियो ।
राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैं क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ ।