काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आइतबारदेखि सुरु भएको छ । बलाधिकृत रथी निर्मलकुमार थापाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् ।
१५ महिलासहित एक सय ९६ खेलाडीले सैनिक तालिम महानिर्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् । यही वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ । खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।