काठमाडौँ । प्रतिकूल मौसमका कारण लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आइतबार बिहान ‘इन रुट वेदर’ का कारण अन्तरराष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान ९माउन्टेन फ्लाइट०को विमान डाइभर्ट भएको जानकारी दिए ।
लुक्लाको खराब मौसमका कारण रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान डाइभर्ट भएका छन् । प्रवक्ता शेर्पाले वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेको जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए ।
अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आइतबार बिहानैदेखि हल्का वर्षा भएको थियो । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।
देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।