काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाको पहुँच विस्तारका लागि साझेदारहरूसँग छलफल गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रम आयोजना गरी प्राधिकरणले छलफल गरेको हो ।
प्राधिकरणका अनुसार बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्राधिकरणले गर्दै आएको कार्य र विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यका बारेमा जानकारी दिने र आगामी दिनमा साझेदारी तथा सहकार्यका सम्भावित क्षेत्र, जनशक्ति विकास, दुर्गम एवं ग्रामीण क्षेत्रमा बीमाको दायरमा विस्तार र बीमा उद्योगमा डिजिटलाइजेसन कार्यान्वयनलगायतका क्षेत्रमा विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारी र सहकार्यलाई समन्वयात्मकरूपमा अझ बढी प्रभावकारीरूपले अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास एवं पहुँच विस्तार गर्दै आम नागरिकलाई लाभ पुग्ने गरी बीमालाई अगाडि बढाउन विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य एवम् साझेदारी महत्वपूर्ण रहेको बताए ।
कार्यकारी निर्देशक सुवेदीले नेपालको बृहत्तर हितका लागि सहयोग गर्ने विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूको उद्देश्य रहेको हुँदा सोहीअनुसार दुर्गम एवं ग्रामीण क्षेत्रका नागरिकलगायत सबैले लाभ पुग्ने गरी बीमालाई अगाडि बढाउनका लागि यससम्बन्धी विज्ञता, ज्ञान र अनुभव आदान–प्रदान गर्ने कार्यमा सम्बद्ध सबैबाट नियमितरूपमा सहयोग एवं सहकार्यको अपेक्षा गरिएको बताए ।
प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा क्षेत्रमा सीमित साधन र स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्न, काममा दोहोरोपना आउन नदिन, लक्षित समुदायसम्म बीमाको पहुँच पुर्याउन र बीमा क्षेत्रमा देखिएका नयाँ जोखिमको वित्तीय रक्षावरण हुने गरी नवीन मोडल विकास गर्न आपसी समन्वय, साझेदारी र सहकार्यका अगाडि बढनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपालका विकासका साझेदार निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपालमा जोखिममा आधारित पुँजी, जोखिममा आधारित नियमन र जोखिममा आधारित बीमादरका सम्बन्धमा नेपाल बीमा प्राधिकरणले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताए ।
साथै, उनीहरूले बीमा क्षेत्रमा डिजिटलाइजेसन, भौगोलिक अवस्था र नागरिकको आर्थिक अवस्थाका आधारमा बीमा र लघुबीमाका नयाँ बीमालेखको विकास, जनशक्तिका लागि तालिम, बीमा सचेतना अभिवृद्धि र बीमासम्बन्धी अध्ययन अनुसन्धानलगायतका क्षेत्रमा प्राधिकरणसँग सहकार्य एवं साझेदारी गर्न तयार रहेको बताए ।
कार्यक्रममा विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र विकास कार्यक्रम, जीआईजेड, डब्लुडब्लुएफ नेपाल, आईयुसीएन, स्टोन स्टेप र प्राक्टिकल एक्सनलगायतका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाका नेपालस्थित कार्यालयका प्रतिनिधिहरू, नेपाल जीवन बीमक संघ, नेपाल बीमक संघ र नेपाल लघुबीमक संघका अध्यक्षहरू र पुनर्बीमा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।