काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा कर्जा बढाएका छन् । पछिल्लो समय सुनको मूल्य बढ्दो क्रममा छ । विश्वबजारमा नै सुनको मूल्य बढ्दा नेपाली ग्राहकको सुनका गरगहना किन्ने क्षमता कमजोर बन्दै गइरहेको छ ।
सामान्यतयामा अमेरिकी डलर र सुनको मूल्यबीच नकारात्मक सम्बन्ध हुने गर्छ । अमेरिकी डलरको मूल्य बढ्दा सुनको मूल्य घट्छ भने डलरको मूल्य घट्दा सुनको बढ्छ् । अहिले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर घटाउने सङ्केत गर्दा पनि लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित भएको देखिन्छ ।
अहिले सुनको मूल्य रुस र युक्रेनबीचको युद्ध, मध्यपूर्वमा इजरायल र हमासको युद्ध, चीनको केन्द्रीय बैंकले विश्व सुन बजारबाट सुन खरिद बढाउनुलगायतका कारणले बढेको छ । चीन, भारत र ब्राजिलजस्ता देशहरूले अमेरिकी डलरको निर्भरता घटाउन र भविश्यमा आर्थिक जोखिमबाट बच्न सुनमा लगानी बढाएका छन् । जसले गर्दा विश्वबजारमा सुनको माग बढेको छ । पछिल्लो समय अमेरिकाले कर वृद्धि गरेपछि चीन र अमेरिकाबीच बढेको तनावले पनि सुनको मूल्य बढ्न मद्दत पुगेको देखिन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा प्रतितोला छापावाल सुनको मूल्य वैशाख २१ गते (आइतबार) एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको छ । प्रतितोला चाँदीको मूल्य पनि एक हजार नौ सय १० रुपैयाँ पुगेको छ । प्रतितोला सुनमा व्यवसायीहरूले गहना बनाउँदा केही निश्चित प्रतिशत ज्याला र जर्ती कटाउने हुँदा अहिले बजारमा एक तोला सुन किनेर गहना बनाउँदा एक लाख ९० हजार रुपैयाँभन्दा बढी पर्न सक्छ । बैंकहरूले सुनचाँदीलाई कर्जा उपलब्ध गराउने सबैभन्दा विश्वासिलो धितो मान्ने गरेका छन् । सुनचाँदी धितो लिएर बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको आठ महिना (२०८१ साउनदेखि फागुन)सम्म ७१ अर्ब १९ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ६१ करोड ४० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरूले सुन चाँदी धितोमा प्रवाह गरेको यस्तो कर्जा रकम ५३ अर्ब ५७ करोड ८० लाख रुपैयाँ थियो ।
वाणिज्य बैंकहरूले मात्रै आठ महिनामा सुनचाँदी धितो लिएर ६५ अर्ब ६८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ अर्ब ९१ करोड १० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले सुनचाँदी धितो लिएर ४८ अर्ब ७७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले भने पछिल्लो अवधिमा सुनचाँदी धितोमा कुल चार अर्ब ४९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले सुनचाँदी धितोमा कुल तीन अर्ब ७५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले पनि यस आर्थिक वर्षको आठ महिनामा सुनचाँदी धितोमा एक अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन करोड ९० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा एक अर्ब चार करोड ९० लाख रुपैयाँ थियो ।