काठमाडौ । ग्लोबल अईएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ‘ग्लोबल अईएमई एआई÷एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नवीनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो । यस प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरू विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।
सहभागी टोलीहरूमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप एक लाख जित्न सफल भएको छ । साथै, डब्लुडीके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरूले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ पुरस्कारबाट पुरस्कृत भएका छन् । दोस्रो हुने टोली डब्लुडीकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौँ हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेस्ट प्रिजेन्टेसन विधाअन्तर्गत बैंकले डिजिविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ । प्रतियोगिताका विजेता टोलीलाई उक्त कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।
नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल अईएमई बैंकलाई धन्यवाद दिए । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधामा नवीनतम् प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधानका लागि सहयोग पुग्नुका साथै नवीनतम् सेवाको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए । यस प्रतियोगिताको उत्कृष्ट टोलीलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गरे ।
बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नवीनतम् धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरूले बैंकको वेभसाइटमार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल अईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल अईएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, दुई सय २१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।