सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार लखनउमा भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषयमा छलफल भएको थियो ।
दुई देशको सम्बन्ध तथा आपसी हितका विषयमा मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीबीच देहरादूनमा भेटवार्ता भएको थियो ।
यस्तै उत्तराखण्डका राज्यपाल गुरमित सिंह र मुख्यमन्त्री शाहबीच समेत छुट्टै भेटवार्ता भएको थियो । मुख्यमन्त्री नेतृत्वको टोली आजै धनगढी फर्किने बताइएको छ । यही वैशाख १६ गते भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा गएको थियो ।