भैरहवा (रुपन्देही) । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए ।
हाइटेन्सन पोलमुनि शव देखेपछि सोमबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए । टण्डनको मृत्यु दुर्घटनाका कारण भएको प्रहरी प्रवक्ता कार्कीले बताए । “हामीले त्यस क्षेत्रको सिसिटिभी क्यामेराको रेकर्ड हेर्दा उनको दुर्घटना देखियो, थप अनुसन्धान भइरहेको छ”, उनले भने ।
लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल–११ कालिका पथमा विद्युत्को वालमा ठोक्किँदा दुर्घटना भएको सिसिटिभी रेकर्डमा देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको सिसिटीभी दृश्यमा राति २ः१५ बजे दुर्घटना भएको देखिएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल पोल नजिकै थुपारिएको निर्माण सामग्री हुँदै पोलमा ठोक्किएको थियो ।