काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरेको पुष्टि भएको विभागले ध्रुव देवविरुद्ध एक अर्ब २० करोड ९२ लाख ३० जार पाँच सय १६ रुपैयाँ असुलउपर गर्न माग गरेको छ ।
ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको पाइएको विभागले जनाएको छ । यस्तै बीजकहरु सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धिकर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धिकर तथा आयकरतर्फ झुट्टा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धन तथा नियन्त्रण) ऐन, २०५२को दफा ३ विपरीत कार्य गरेको पुष्टि भएको भन्दै मुद्दा दायर गरेको हो ।
विभागले मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार चार सय ३४ रुपैयाँ र आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार आठ सय २४ रुपैयाँ गरी जम्मा ६० करोड ४६ लाख १५ हजार दुई सय ५८ रुपैयाँ बिगो कायम गरी असुल गर्न र बिगोको शतप्रतिशत जरिबाना असुलउपर गर्न मागदाबीसहित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो ।