काठमाडौं । सवारीसाधनको खरिदबिक्री बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूले दिने हायर पर्चेज कर्जा घटेको छ । सुस्त अर्थतन्त्रका कारण विलासी वस्तुहरूको खरिदबिक्री बढ्न सकेको छैन । त्यसैले गाडी खरिदका लागि पनि नयाँ कर्जाको माग बढ्न नसकेको बैंकर बताउँछन् ।
कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि दिने कर्जा घटेको बैंकहरूले बताएका छन् । हायर पर्चेज कर्जा सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिने कर्जा हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले संस्थाहरूले हायर पर्चेजका लागि कुल एक खर्ब २९ अर्ब ९४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा तीन अर्ब ६५ करोड ६० लाख रुपैयाँले बढी हो । २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज क्षेत्रमा कुल एक खर्ब २५ अर्ब २९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्रै २०८१ फागुन मसान्तसम्म हायर पर्चेजका लागि एक खर्ब १३ अर्ब ४३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा तुलनामा पाँच अर्ब ७९ करोड रुपैयाँले बढी हो । २०८० फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले हायर पर्चेज क्षेत्रमा कुल एक खर्ब आठ सात अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकबाट जारी भएकोे हायर पर्चेज कर्जा केही बढे पनि विकास बैंक र फाइनान्स कम्पनीहरूले घटाएका छन् । विकास बैंकहरूले २०८१ फागुन मसान्तसम्म हायर पर्चेजका लागि १३ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब पाँच करोड ४० लाख रुपैयाँले कम हो । २०८० फागुन मसान्तसम्म विकास बैंकहरूले हायर पर्चेजका लागि १५ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले २०८१ फागुन मसान्तसम्म हायर पर्चेज क्षेत्रमा तीन अर्ब ३० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा सात करोड ९० लाख रुपैयाँले कम हो । २०८० फागुन मसान्तसम्म फाइनान्स कम्पनीहरूले हायर पर्चेज क्षेत्रमा तीन अर्ब ३८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।