काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्धारित समयमा निर्माण सम्पन्न गर्न सरकार असफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा तीन सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए । उक्त समयावधि यही वैशाख २४ गते सकिँदैछ । तर हालसम्म निर्माणको आधा काम पनि सकिएको छैन । सरकारले मुख्य प्रतिष्ठाको विषय बनाएर सो रंगशाला निर्माण सुरु गरेको थियो । सहरी विकास मन्त्रालयको संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयमार्फत रंगशाला निर्माणको काम भइरहेको छ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो । निर्धारित समयमा निर्माणको काम नसकिएपछि प्रधानमन्त्री ओलीले रङ्गशाला निर्माणमा भइरहेको ढिलाइबारे गम्भीर चासो राखेका छन् ।
रङ्गशाला अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सोमबार प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई बोलाएर छलफल गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित सङ्लग्न निर्माण व्यवसायी सहभागी थिए ।
प्रधानमन्त्री ओलीले के–कति कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीयरूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिएका छन् । मन्त्रालयका सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीहरूले सम्बन्धित निकायबीच समन्वय गर्न समय लागेकाले बोलपत्र आह्वान हुन ढिलाइ भएको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन गर्नुपरेको, वर्षाले केही दिन काममा अवरोध भएको, प्रतीत पत्र अर्थात् एलसी खोल्ने प्रक्रियामा ढिलाइजस्ता कारणले तोकिएको अवधिमा काम हुन नसकेको बताएका थिए । अबको एक महिनामा काम सक्ने उनीहरूको दाबी थियो ।
छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५ दशमलव १९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लडलाइटतर्फ वित्तीय प्रगति २३ दशमलव ८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो । प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार ३०२ रुपैयाँ र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ रुपैयाँमा सम्झौता गरिएको थियो । सो छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।