काठमाडौं । चितवनको भरतपुर अस्पतालमा मुटु रोग र जलन उपचार सुविधाको सुरुवात गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार अस्पतालको क्याथ ल्याब र नवनिर्मित जलन वार्डको उद्घाटन गरेका छन् ।
संघीय राजधानी केन्द्रीत विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पु¥याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार र जलन उपचारको विस्तार गरेका हुन् । सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाऊन् भनेर विशिष्ट उपचार विस्तार गरिएको बताए । भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने उनको विश्वास छ । ‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने ।
यसअघि मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए । सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा सुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड सुरुवात गरिएको हो । अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ । यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ । यससँगै संघ सरकारअन्र्तगतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनकसहितका आठ सेवा सुरु भएको छ । वैशाख महिनामा सेवा थाल्ने तालिकाअनुसार अस्पतालमा सेवा सुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।