वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको कर घटाउन सक्ने सङ्केत दिएका छन् । उनले स्वीकार गरे कि हालको भन्सार दर यति उच्च छ कि विश्वका दुई ठूला अर्थतन्त्रहरूले एक–अर्कासँग व्यापार गर्न बन्द गरेका छन् ।
ट्रम्पले एनबीसीको एक कार्यक्रममा भनेका थिए कि म जुनसुकै बेला चीनमाथिको कर घटाउनेछु, किनकि यदि यसो गरिएन भने उनीहरूसँग व्यापार गर्न सम्भव हुनेछैन र उनीहरू व्यापार गर्न चाहन्छन् ।
ट्रम्पले चीनको अर्थतन्त्र अहिले समस्यामा रहेको संकेत गरे । त्यहाँको कारखाना सञ्चालन २०२३ पछि सबैभन्दा खराब अवस्थामा छ । निर्यात अर्डरमा पनि उल्लेखनीय गिरावट आएको छ ।
आफ्नो अमेरिका फस्र्ट नीतिअन्तर्गत, ट्रम्पले अमेरिकालाई सामान बेच्ने सबै देशहरूमा १० प्रतिशत कर लगाए, तर अप्रिल २० मा चीनमाथिको कर बढाएर एक सय ४५ प्रतिशत पुर्याएका थिए । त्यसको बदलामा, चीनले पनि अमेरिकी सामानहरूमा एक सय २५ प्रतिशतसम्म कर लगाएको थियो ।
राष्ट्रपति ट्रम्पले आइतबार एक अन्तर्वार्तामा उच्च भन्सार शुल्कले चीनमा प्रभाव पारेको बताएका थिए । उनले चीनमा कारखानाहरू बन्द भइरहेको र बेरोजगारी उल्लेखनीयरूपमा बढेको बताए । तर उनले चीनसँग कुनै पनि वार्ता नगर्ने स्पष्टरूपमा बताए ।