काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको पक्षलाई मनन गर्न जरुरी रहेको बताए ।
उनले भने, “संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्दछ, राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।”
संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकहरूले पेसालाई सेवाभावको दृष्टिकोणले हेर्नेछन भन्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु नेपालकै लागि खुसीको विषय भएको उल्लेख गरे ।
प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न वर्ग, तह र भौगोलिक क्षेत्रका आम नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ सेवा प्रदान गर्दै आउनु खुसीको विषय भएको उल्लेख गरे । उनले आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन, स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।