काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको संंस्थापक सेयर किनबेचको विवाद उच्च अदालतमा पुगेको छ । यसअघि यी दुई कम्पनीको सेयर किनबेच विवाद आपसी समझदारीबाट किनारा नलागेपछि कम्पनी रजिष्ट्रार कार्यालयमा पुगेको थियो । तर पछिल्लो पटक कम्पनी रजिष्ट्रार कार्यालबाट विवाद निरुपण हुन नसकेपछि शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल उनकी श्रीमती सुभी अग्रवाल र व्यवसायी मुकुन्दप्रसाद तिमिल्सिनाबीचको सेयर विवाद कम्पनी रजिष्ट्रार कार्यालय हुँदै उच्च अदालतमा पुगेको हो ।
संस्थापक सेयर विवादसम्बन्धी उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले सुलभ र उनकी श्रीमती सुभीलाई उपस्थित गराउन आदेश जारी गरेको हो । हिमालयन रि–इन्स्योरेन्सको कबुल गरेको सेयर सुलभले नदिएको र बढी मूल्य लिएको दाबी गर्दै मुकुन्दले कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयले म्याद गुुज्रिसकेको भन्दै दुई लाख २५ हजार कित्ता सेयर बिक्रीको विषयमा सुलभ र सुभी अग्रवालको पक्षमा निर्णय गरेपछि तिमल्सिना उच्च अदालत पाटन पुगेका हुन् । उक्त मुद्दामा उच्च अदालत पाटनले सुलभ र सुभी अग्रवाल दुवै जनालाई झिकाउन आदेश दिएको हो ।
उद्योगी तिमल्सिनाले दुई लाख २५ हजार कित्ता सेयर नपाएपछि रजिष्ट्रार कार्यालयले गरेको निर्णयविरुद्ध गत माघ २४ मा सबै निर्णय बदर गरी दाखिला भएको ३४ करोड ८० लाख र सोको ब्याजसहितको क्षतिपूर्तिसमेत दिलाइपाऊँ भनी सुलभ, सुभी अग्रवालका साथै कामाख्या फिनकोर्पका विरुद्धमा अदालतमा निवेदन दर्ता गराएका हुन् ।
हिमालयन रिको प्रतिकित्ता एक सय रुपैयाँमा सेयर दिन सहमति भएकोमा पछि शंकर ग्रुपका उपाध्यक्ष सुलभले चार सय १७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता पाँच सय १७ रुपैयाँ रुपैयाँ कायम गरी झन्डै २९ करोड रुपैयाँ बढी लिएको तिमिल्सिनाको दाबी छ । पटक–पटक छलफल हुँदा पनि बढी लिएको प्रिमिय रकम भुक्तानी नदिएपछि उक्त मुद्दा उच्च अदालत पाटनसम्म पुगेको हो ।