काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४ औँ वार्षिकोत्सव देशव्यापीरूपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको जानकारी दिएको छ । कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल चार सय १२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, सेयरधनी, सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, नियामक निकायहरूका साथसाथै सबै सरोकारवालाहरूमा धन्यवाद तथा शुभकामना व्यक्त गर्दै र आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाइरहने अपेक्षा रहेको बताए ।