काठमाडौं । भारतले पाकिस्तानमाथि सैन्य हमला गरेपछि नेपालमा पनि यसको सतर्कता अपनाइएको छ । दुर्ई देशीय तनावका बीच नेपालमा अवैध गतिविधि हुन सक्ने भन्दै सतर्कता अपनाइएको हो ।
बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले दुई देशीय तनावले नेपालमा पर्न सक्ने असरको बारेमा समीक्षा गरेको थियो ।
गत अप्रिल २२ मा भारतको जम्मु काश्मीरमा पर्ने पहलगाम क्षेत्रमा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । त्यसको १५ दिनपछि बुधबार बिहान साढे १ बजे पाकिस्तान र पाकिस्तान प्रशासित काश्मीर क्षेत्रमा भारतले सैन्य हमला गरेको हो । जसमा करिब एक सय जनाको ज्यान गएकाको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । पाकिस्तानी सञ्चार माध्यमहरुले भने आक्रमणमा २६ निर्दोष नागरिकको मृत्यु भएको जनाएका छन् ।
बुधबार बिहान पत्रकार सम्मेलन गर्दै भारतीय सेनाले लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदको नौ वटा तालिम र योजनास्थलमा आक्रमण गरेको जानकारी दिएको छ । सेनाले यो आक्रमणमा पाकिस्तानी सेना र पाकिस्तानी नागरिकलाई निशानामा नराखिएको स्पष्ट पारेको छ ।
भारतले पहलगाममा भएको घातक आक्रमण पाकिस्तानको योजनामा भएको आरोप लगाएको छ । तर पाकिस्तानले भने यो आरोपको खण्डन गर्दै आएको छ । पाकिस्तानसँगको सबै कूटनीतिक सम्बन्ध तोडेको भारतले हमलाको १५ औं दिनमा बुधबार करिब १५ वटा मिसाइल आक्रमण गरेको हो ।
भारतीय हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् भने छिट्टै बलियो जवाफ दिने चेतावनी दिएका छन् ।
संयम अपनाउन संयुक्त राष्ट्र संघको आग्रह
संयुक्त राष्ट्र संघले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीचको युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’
राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । ‘विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,’ पत्रमा भनिएको छ ।
भारतलाई जवाफ फर्काउने पक्षमा इस्लामाबाद
पाकिस्तानले भारतले गरेको क्षेप्यास्त्र हमलालाई ‘जघन्य अपराध’ भन्दै निन्दा गरेको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकल्दै पाकिस्तानी सैन्य बलहरूलाई पनि भारतलाई जवाफ दिने अधिकार भएको बताएको छ ।
पाकिस्तानको सुरक्षा परिषद्ले संयुक्त राष्ट्र संघ बडापत्रको धारा ५१ उद्धृत गर्दै आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार रहेको बताएको हो ।
नेपालले उपयुक्त रणनीति अपनाउने
प्रधानमन्त्रीकेपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको सुरक्षा परिषद्को बैठकमा भारत र पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने सुरक्षा चुनौती तथा असरहरूको बारेमा छलफल भएको छ ।
बैठकमा आगामी दिनमा आईपर्न सक्ने सम्भावित परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने विषयमा छलफल भएकोे थियो । बैठकपछि सुरक्षा परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थिति तथा हालै विकसित भारत पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्न सक्ने विविध सुरक्षा चुनौती तथा असरहरूको सम्बन्धमा समीक्षा गरियो । यो घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भयो ।’
मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने विषयमा पनि छलफल भएको छ ।
सीमावर्ती क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता
भारत–पाकिस्तानबीच युद्ध चर्किने खतरा बढेपछि नेपालले पनि भारतसँगको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । गृह मन्त्रालयले भारतसँगको खुला सीमाको दुरुपयोग नहोस् भनेर सरकार सचेत रहेको र सोहीअनुसार निगरानी बढाएको जनाएको छ ।