काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरु गरेको छ । यो गेटवे सुरुपश्चात् बैंकका मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले नेपालमा ई–कमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरूलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहजरूपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ई–कमर्स कारोबारहरू गर्नेजस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटललगायतका व्यवसायहरू लाभान्वित हुनेछन् ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानी प्राप्तिका लागि सहज बनाउने भएकाले बैंकका मर्चेन्टको व्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरू थप सुरक्षित हुनेछ । यसरी बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, दुई सय २१ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।