काठमाडौं । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाटसम्म नेपालमा नै पहिलो पटक रिभर ट्युबिङ सुरु गरिएको छ । यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ ।
रिभर ट्युबिङबारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेषगरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । सुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएका थिए ।
‘माझी किङ’ यमन माझी रिभर ट्युबिङ नेपालका फाउन्डर हुन । उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो ।