इनरुवा (सुनसरी) । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । गाउँपालिका–२ का वडाध्यक्ष आलम अंसारीले बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको जानकारी दिए । स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे । स्थानीयवासीले विद्यालयलाई चन्दा सङ्कलन गरेर बस हस्तान्तरण गरेकामा धन्यवाद दिँदै उनले यो शिक्षा प्रवर्द्धनतर्फको ऐतिहासिक कदम भएको धारणा राखे ।
विद्यालयका प्रधानाध्यापक फलाहीले विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकामा अब केही राहत हुने बताए। “विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए । अब केही राहत हुनेछ । यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ”, उनले खुसी हुँदै भने ।