काठमाडौं, साउन १९
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ । भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको समितिका संयोजक डा. सञ्जिव सापकोटाले बताए ।
अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारीअनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरू बढी प्रभावित छन् । यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र एक सय ८९ जना नेपालीको मृत्यु भएको छ ।
यसैगरि युरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरू एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ)मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारलगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरूमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम, अमेरिकालगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ । समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरू भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।
यसैबीच कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार चार सय २४ जना नेपाल फर्किएका छन । गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोगलगायतसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको उद्धारको लागि थप ५४ वटा उडान गर्न अनुमति दिएको छ ।
उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ । चौथो पटक अनुमति दिइएका मुलुक तथा सहरहरूमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, आबुदाबी र सारजाहा छन् । गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो ।