काठमाडौं । विकास बैंकहरूमा सञ्चालनमा रहेको कर्जा खाताको संख्या घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विकास बैंकहरूमा कर्जा खाता घटेको छ ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूमा कुल १९ लाख ३७ हजार चार सय ८० वटा कर्जा खाता सञ्चालनमा छन् । सोमध्ये विकास बैंकहरूमा मात्र सञ्चालनमा रहेको कर्जा खाता दुई लाख ७३ हजार सात सय ३५ छ । यो खाता संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ हजार नौ सय ९४ वटाले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल दुर्ई लाख ८७ हजार सात सय २९ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंकहरूमा मात्र भने कुल १६ लाख १९ हजार तीन सय १३ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ७३ हजार ३६ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल १५ लाख ४६ हजार दुई सय ७७ वटा कर्जा खाताहरू सञ्चालनमा थिए ।
यसैगरी फाइनान्स कम्पनीहरूमा पनि चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल ४४ हजार चार सय ३२ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक हजार नौ सय ६५ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल कर्जा खाताको संख्या ४२ हजार चार सय ६७ वटा थियो ।
चालू आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल १९ लाख ३७ कर्जा खाता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ हजार सातवटाले बढी रहेको राष्ट्र बैंकको भनाइ छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल कर्जा खाता संख्या १८ लाख ७६ हजार चार सय ७३ वटा थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो अवधिमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या भने पाँच करोड ८३ लाख ९९ हजार सात सय ८४ वटा पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ लाख ९९ हजार ६४ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पाँच करोड ४४ लाख सात सय २० रहेको थियो ।
वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पछिल्लो अवधिमा पाँच करोड ६३ हजार पाँच सय तीन पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ लाख ५५ हजार आठ सय ३० वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल चार करोड ६६ लाख सात हजार छ सय ७३ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए । विकास बैंकहरूमा भने पछिल्लो अवधिमा ७३ लाख ८७ हजार आठ सय २१ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार लाख ४५ हजार नौ सय ३५ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल ६९ लाख ४१ हजार आठ सय ८६ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए ।
फाइनान्स कम्पनीहरूमा भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा कुल नौ लाख ४८ हजार चार सय ६० वटा निक्षेप खाताहरू सञ्चालनमा छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७ हजार दुई सय ९९ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा यसरी सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या आठ लाख ५१ हजार एक सय ६१ थियो ।