काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च छ । वैदेशिक रोजगार विभागका अनुसार विदेशमा काम गर्न जान मासिक साढे ६७ हजारले श्रम स्वीकृति लिनेगरेका छन् । यो श्रम स्वीकृति करिब एक सयवटा मुलुकमा जानका लागि दिइएकोे विभागले जनाएकोे छ ।
विभागकोे तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगारीमा जानका लागि छ लाख सात हजार आठ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिमा दिइएको श्रम स्वीकृतिको तुलनामा ६८ हजार सात सय ५६ जना बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म पाँच लाख ३९ हजार एक सय १२ जनाले श्रम स्वीकृति लिएका थिए । चालू आर्थिक वर्षमा सबैभन्दा बढी चैतमा र सबैभन्दा कम असोजमा श्रम स्वीकृति प्रदान गरिएको छ । चैतमा ७३ हजार चार सय तीन जना र असोजमा ५३ हजार पाँच सय ३५ जनालाई श्रम स्वीकृति प्रदान गरिएको हो । चैतमा एक सय आठवटा र असोजमा ९८ वटा मुलुकमा जानका लागि उक्त श्रम स्वीकृति प्रदान गरिएको हो ।
वार्षिक उच्च संख्यामा युवाहरू नेपाली श्रमबजारमा प्रवेश गर्नेगरेका छन् तर रोजगारीसम्बन्धी सरकारको स्पष्ट नीति तथा कार्यान्वयन नहुँदा उनीहरू बाध्यात्मक वैदेशिक रोजगारीमा जानेगरेका छन् । भौतिक उपस्थितिविना श्रम स्वीकृति दिने श्रम, मन्त्रालयको नीति तथा भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापनाले विदेश जान थप सहजीकरण गरिदिएको छ । नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले श्रम स्वीकृतिमा सहजता छ ।
नेपाली श्रमिकको लागि लामो समयदेखि गन्तव्य मुलुकको पहिचान भने मलेसिया र खाडीका छवटा मुलुक रहेका छन् । मलेसिया र खाडीका मुलुक असुरिक्षत हुँदै गएको र अन्य सुरक्षित तथा विकसित मुलुकमा समेत नेपाली श्रमिकको माग भएको कारण युरोप र विकासित मलुकहरू नयाँ गन्तव्य मुलुकको रूपमा देखा परेको विभागका अधिकारीहरू बताउँछन् । विभागका अधिकारीहरूका अनुसार दक्षिण कोरिया, जापान र युरोप र अफ्रिकाका विकसित मुलुकमा श्रम गर्नका लागि श्रम स्वीकृति लिने गरेका छन् ।
अष्ट्रेलिया, क्यनाडा, डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, फिनल्याण्ड, दक्षिण अफ्रिकालगायतका मुलुकमा जानका लागि सयौँ जनाले श्रम स्वीकृति लिएका छन् । एसिया, युरोप र अमेकिार मात्र नभई अफ्रिकी मुलुक दक्षिण अफ्रिका, मौरिसस, घाना, नाइजेरियालागयतका मुलुक जानका लागि श्रम स्वीकृति लिएको देखिन्छ । यद्यपि अफ्रिकी मुलुक जान भने ज्यादै न्यून संख्यामा श्रम स्वीकृति लिएका छन् । श्रम तथा श्रम स्वीकृतिलाई लिएर सरकारको कमजोर कूटनीति तथा नीतिहरूले गर्दा श्रमिकहरू आफैँ गन्तव्य परिवर्तन गर्न थाल्दा धेरै मुलुकहरूमा नेपाली श्रमिक काम गर्नका लागि पुगेका विभागका अधिकारीहरू बताउँछन् ।
मुलुकमा पर्याप्त रोजगारी नभएको कारण हरेक स्थानका नागरिकहरू श्रम स्वीकृति लिएर विदेश जाने गरेका हुन् । मुलुकको वैदेशिक रोजगारीको क्षेत्रमा समस्या हुँदाहुँदै पनि श्रम स्वीकृति भने उच्चरूपमा वितरण हुँदै आएको विभागका उपमहानिर्देशक चन्द्रबहादुर सिवाकोटीले जानकारी दिए । उनका अनुसार मासिक हजारौँ श्रम स्वीकृति प्रदान गरेको बताए । आर्थिक सर्वेक्षणअनुसार नेपालमा वार्षिक पाँच लाख १२ हजार श्रमशक्ति उत्पादन हुनेगरेको छ । तर, आन्तरिक बजारमा श्रम तथा रोजगारीको माग न्यून हुँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
वैदेशिक रोजगारीमा जाने नागरिकलाई सुरक्षित, स्वस्थ्य र सहज श्रमको लागि यसको क्षेत्रको व्यवस्थापन गर्र्नु अत्यन्त आवश्यक छ तर सरकार उक्त काम गर्न सकिरहेको छैन । कमजोर श्रम कूटनीतिका कारण वैदेशिक रोजगारी व्यवस्थित हुन सकेको छैन श्रम विज्ञ डा. गणेश गुरुङले बताए । वैदेशिक रोजगारी अपरिहार्य भएको लामो समय भएको बताउँदै उनले भने नेपालले गन्तव्य मुलुक तथा वैदेशिक रोजगारीका लागि नेपालीहरू पुग्ने मुलुकहरूमा असल श्रम कूटनीतिको अभ्यास गराउन जरुरी छ ।