काठमाडौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमुना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाई स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहीबार एक कार्यक्रमका बीच सो ल्याबको उद्घाटन गरेका छन् ।
कार्यक्रममा मन्त्री पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरिरहेको बताए । प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो । ‘यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ’, उनले भने, ‘यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।’ मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे । नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाइएको छ । विभिन्न सरकारी अस्पतालमा सम्भव नभएका परीक्षणका लागि समेत प्रयोगशालामार्फत सुपथ मूल्यमा गर्ने गरी व्यवस्था मिलाइएको हो ।
नेपालमा पहिलो पटक निर्मित ल्याब करिब चार करोड लागतमा निर्माण सम्पन्न भएको प्रयोगशालाका निर्देशक डा रञ्जन भट्टले बताए । ल्याब उद्घाटनकै अवसरमा नेपालमा प्राथमिकता प्राप्त ५२ रोगको परीक्षणका लागि आवश्यक उपकरण विश्व स्वास्थ्य संगठनले मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।