नुवाकोट । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो । सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्नेगरी व्यावसायिक निरन्तर योजना कार्यान्वयनका लागि पहल गरिने बताए । उनले भने, ‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र सोसँग सम्बन्धित नीतिको तर्जुमा गर्न तीनै तहको सरकारसँग पहल गर्न आवश्यक छ ।’ अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगहरूमा विपद्को असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बीमालगायतका व्यवस्थाहरूमा सचेतना जगाउनुपर्ने बताए ।
युएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोशुकुले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको विपद् प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताइन् । जलवायु परिवर्तनले औद्योगिक र व्यावसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उनको भनाइ छ । नेपाल चेम्बर र युएनडीपीले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माण र जीविकोपार्जनबारे सहकार्य गरेका थिए ।