काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा तीन सय १२ वटा पेट्रोलिङ र एक हजार आठ सय ४४ स्थानमा चेक प्वाइन्ट राखेको छ । वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबारसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र दुई सय २८ वटा एकल पट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिए ।
भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पेट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै, एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको जनाइएको छ । सोही अवधिमा सीमा इलाकाका एक हजार आठ सय ४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैैशाख २३ गते पाँच सय ६४, वैैशाख २४ गते छ सय ४० र वैैशाख २५ गते छ सय ४० ठाउँमा गरी एक हजार आठ सय ४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
उक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ । सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुन सक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्य समेत कडाइका साथ गरिएको छ ।