काठमाडौँ । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा संयुक्त राज्य अमेरिका पुगेकी छिन् ।
महासङ्घकी अध्यक्ष शर्मा नेजाको निमन्त्रणामा गत बुधबार यहाँबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् । अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुग्दा उनलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
उद्घाटन सत्रमा अतिथि तथा पत्रकारहरू गरी करिब २०० प्रतिनिधिको सहभागिता रहने ‘कन्भेनर’ रोशन अधिकारीले जानकारी दिए । उनले उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।
सो अधिवेशनमा भाग लिन ८१ प्रतिनिधिले सदस्यता दर्ता गरिसकेको, नेजाको वार्षिक प्रकाशन ‘प्रयास’ सार्वजनिक गरिनाका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मानसमेत प्रदान गरिने कार्यक्रम रहेको नेजाका महासचिव बाबुराम दाहालले जानकारी गराए ।
नेजाको नवौँ अधिवेशनलाई लस भेगसका नेपाली समुदायले निकै उत्सुकताका साथ सहकार्य गरेको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले बताए ।