गण्डकी । कानुन दिवस २०८२ का अवसरमा उच्च अदालत पोखराद्वारा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाइ विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रुपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।
यो दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको बताउँदै उनले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्नेमा जोड दिए । उनले विधिको शासन कायम राख्ने र कानुन सबैका लागि सरोकार बनोस् भन्ने यस दिवसको मुख्य सन्देश रहेको उल्लेख गरे ।
संविधानको भावनाअनुसार गण्डकी प्रदेशले कार्यान्वयन गर्दै आएको प्रदेशस्तरीय कानुनी संरचनाहरूले नागरिकलाई नजिकबाट न्याय सेवामा पहुँच पुर्याउन ठूलो भूमिका खेलेको उनको भनाइ छ । उनले न्यायप्रतिको भरोसा बलियो बनाउने, कानुनी शिक्षालाई व्यावहारिक बनाउने र सबै नागरिकलाई निष्पक्ष सेवा उपलब्ध गराउने दिशामा अझ प्रभावकारी कदम चाल्नु आजको आवश्यकता रहेकामा जोड दिए ।
नेपालमा प्रधान न्यायालय ऐन, २००९ वैशाख २६ गतेदेखि लागु भएको हुँदा सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।