काठमाडौं । लघुबीमा कम्पनीहरूको व्यापार सन्तोषजनक देखिएको छ । सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनी र चार वटा लघुनिर्जीवन बीमाले चालू आर्थिक वर्षको नौ महिना (साउन–चैत)सम्म एक अर्ब ५४ करोड २४ लाख १५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यी कम्पनीहरूले यो अवधिमा ११ लाख ३७ हजार एक सय ६१ वटा बीमालेखबाट सो रकम संकलन गरेका हुन् ।
लघु जीवनबीमा कम्पनीहरूले नौ महिनामा ८५ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार लघु जीवनबीमा कम्पनीहरूले आठ लाख ६० हजार ६३ वटा बीमालेखमार्फत ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले पाँच लाख ७८ हजार सात सय ६७ वटा सक्रिय जीवन बीमालेखमार्फत ३२ करोड ५८ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले पनि एक लाख ७० हजार आठ सय २० वटा सक्रिय जीवन बीमालेखमार्फत ३२ करोड २० लाख ९२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । लिवर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले एक लाख १० हजार चार सय ७६ वटा सक्रिय बीमालेखमार्फत २० करोड ७७ लाख ८७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
लघु निर्जीवन बीमातर्फ भने सञ्चालनमा रहेका चार वटा कम्पनीहरूले २०८१ साउनदेखि चैतसम्म दुई लाख ७७ हजार ९८ वटा बीमालेखमार्फत ६८ करोड ६७ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीले ७७ हजार तीन सय ५१ वटा बीमालेखमार्फत १९ करोड ३६ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीले ६९ हजार एक सय ५७ वटा बीमालेखमार्फत १७ करोड ५७ लाख १२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रोइन्स्योरेन्स कम्पनीले पनि ७४ हजार तीन सय ६५ वटा बीमालेखमार्फत १६ करोड ३२ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रोइन्स्योरेन्स कम्पनीले ५६ हजार दुई सय २५ वटा बीमालेखमार्फत कुल १५ करोड ४० लाख ७० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।