दमक (झापा) । गए राति दमकमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बूको मृत्यु भएको जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गए राति दमक नगरपालिका–१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दमक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा घाइतेको उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् भने ट्रक र स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।