काठमाडौं । एनएमबी बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्सबीच २४ दशमलव आठ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत् आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबी बैंक अगुवा बैंक रहने छ । २४ दशमलव आठ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत् आयोजनाको करिब लागत पाँच अर्ब ३५ करोड रहने जानकारी गराइएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी तीन अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबी बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।
त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्धित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत् आयोजना विसं २०८१ साल कार्तिक २७ गते मध्याह्न १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइएको छ । उक्त आयोजना एनएमबी बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीसम्बन्धी नीति २०२२ को निर्देशनअनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।