मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि विनासर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन् ।
युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए ।
क्रेमलिनमा पुटिनले युरोपेली नेताहरूको त्यो आह्वानलाई स्पष्टरूपमा सम्बोधन गरेनन् बरु यसको सट्टा रूस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव प्रस्तुत गरेका थिए । ‘हामी किएभ अधिकारीलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ र त्यस्तो वार्ता कुनै पनि पूर्वसर्तविना होस् भन्ने म जोड दिन्छु’, पुटिनले भने ।
रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ ।
‘हामी इस्तानबुलमा बिहीबार मे १५ मा ढिलाइ नगरी (वार्ता) सुरु गर्ने प्रस्ताव गर्दछौँ’, पुटिनले भने । उनले वार्तालाई सहज बनाउन सहयोग माग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्ने बताए । उनले ‘युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध’ रहेको र ‘द्वन्द्वका मूल कारणहरू हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न’ वार्ता चाहेको बताए ।